ई-डिआईएस सेवाबाट शेयर राफसाफ व्यवस्था मिलाउदै सीडिएस ।

2018-09-06

शेयर बजारका लगानीकर्ता शेयर कारोबार पश्चात डेविट इन्सट्रक्सन स्लिप (डिआईएस)  बोकेर ब्रोकर कार्यालय धाउने दिनको छिट्टै अन्त्य हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले भदौ महिना भित्रमा नै ई -डिआईएस सेवा सञ्चालनमा ल्याउने भएपछि लगानीकर्तालाई शेयर कारोबारमा थप सहजता हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार यस्तो सेवा भने मेरो शेयरका प्रयोगकर्ताले मात्र पाउने छन् । ई-डिआर्इएस सम्बन्धी एप्लिकेशनको काम पुरा भएको र अब सञ्चालनको अन्तिम तयारीमा रहेको सिडिएससीले जनाएको छ । 

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भदौ महिना भित्रै ई-डिआईएस सेवा सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । 

मेरो शेयरका प्रयोगकर्ताले ई-डिआइएस सम्बन्धी अप्सनमा गएर शेयर बिक्री गर्दा ई-डिआर्इएस प्रयोग गर्न सक्नेछन् । हाल यो सेवा मेरो शेयरमा आवद्ध भएका तीन लाख १६ हजार ५०० लगानीकताले मात्र लिन सक्ने न्यौपानेले बताए ।

ई-डिआइएस सेवा सञ्चालनमा आएपनि मेरो शेयरमा आवद्ध भईनसकेका लगानीकतर्नाले भने पुरानै पद्धति अनुसार डिआइएस बोकेर ब्रोकर कार्यालय धाउनुपर्नेछ ।

नेप्सेले अनलाइन शेयर कारोबार प्रणालीको परीक्षण गरिरहेको अवस्थामा सो अगावै ई-डिआईएस कार्यान्वयनमा ल्याउन लागिएको हो । यसले क्लोज आउटको समस्या पनि न्यूनिकरण गर्नेछ ।

हालसम्म १३ लाख १८ हजार बढी डिम्याट खाता सञ्चालनमा रहेको भएपनि तीन लाख १६ हजार ५०० जना लगानीकर्ता मात्र मेरो शेयरमा आवद्ध रहेका छन् ।

ई-डीआईएसको सुबिधा पूर्णअनलाईन कारोबार प्रणाली लागू नहुँदै पनि लिन सकिने प्रवक्ता न्यौपानेको भनाई छ । अनलाईन प्रणाली मार्फत ब्रोकर नगई शेयर कारोबार गर्न सकिन्छ भने ई-डीआईएस मार्फत ब्रोकर कार्यालय नपुगी शेयर कारोबारको राफसाफ गर्न सकिनेछ ।

यो सुविधाका कारण डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ । नेप्सेले चाँडै ल्याउन लागेको पूर्ण अनलाईन प्रणालीमा अनलाईन कारोबारसँगै सेयर हस्तान्तरण पनि अनलाईन मार्फत नै हुने भएपछि ई-डिआईएस सञ्चालनमा ल्याउन लागिएको हो ।

Source: Merolagani.com